रेखासँग राजनीतिक सम्बाद
4
सानोमा वुझ्दा नेपालको राजनिती देश र जनताको हितमा छ कि जस्तो लाग्थ्यो । अहिले राजनिती गर्नेहरु जनताको सेवामा भन्दा पनि कमाउने धन्दामा लागेजस्तो देखिन्छ । कमाई धमाई वढि हुने, झैझगडा पनि धेरै हुने भइरहेको छ नेपालको राजनीतिमा ।
तपाईलाई कुन नेता मनपर्छ ?
अहिलेका प्रधानमन्त्री वावुराम भट्टराईवाट धेरै नै आश थियो । तर, उहाँले आश गरेअनुसारको काम गर्न सक्नुभएन । अर्काले खुट्टा धेरै ताने होलान् तर पनि म राष्ट्रिय नायक हुँभनेर प्रमाणित गर्न सकेको भए हुने थियो । उहाँले खासै नयाँ केही नगर्दा निराशा छाएको छ । तर, आशा भने मरेको छैन् । उहाँले अर्थमन्त्री भएकाबेला गरेको कामवाट म प्रभावित छु ।
नेताहरुको ताल देख्दा आफैं राजनितीमा होमिउँ जस्तो लाग्दैन ?
अबश्य पनि, म राजनितीमा लाग्छु । मेरो एउटा प्लानिङ छ, अझै केही वर्ष सिनेमा खेल्छु, त्यसपछि समाजसेवामै जाने हो । एनजीओ खोलेर पनि काम गर्न सक्छु, जे गरेपनि सोसियल काम गरेर म प्रुभ गर्छु । त्यसबाट मैले नेतृत्व गर्न सक्छु या सक्दिन भन्ने प्रष्ट हुन्छ, त्यसपछि मात्र राजनीतिमा लाग्छु । सायद उमेरले ५० टेक्ने बेलातिर त्यतातिर लागिन्छ कि ।
नेताजीहरुसँग सम्बन्ध कस्तो छ ?
मेरो सम्बन्ध राम्रै छ । पहिले नेताहरुले कलाकारलाई महत्व दिदैनथे, वल्ल अहिले महत्व वुझेका छन् । अहिले देशका विभिन्न समस्यामा कलाकारसँग छलफल गर्ने परिपाटि पनि वसेको छ, यो सुखद कुरा हो ।
संविधान नवन्नुको कारण के होला ?
संविधान नवन्नुको दोषी नेता नै हुन् । संविधानले नेता र जनता भन्दैन । यसैले पनि सवैलाई कानुन लाग्छ । भ्रष्टाचार गरेका, देश विगारेकाहरुले कानुनले समात्छ भन्ने भयले संविधान वन्न नै दिएनन् जस्तो लाग्छ ।
तपाई त प्रचण्डसँग पनि कम्मर मकाई मर्काइ नाच्नुभयो, धेरैले माओवादी भन्छन नी तपाईलाई ?
म माओवादीमा लागेकी छैन् । मेरो झुकाव मात्र हो, उहाँहरुले कलाकारहरुलाई सम्मान गर्नुहुन्छ नि, यसैले म आकषिर्त भएकी हुँ ।
रेखाको प्रचण्डसँग खुव दोस्ती छ भन्छन त ?
म प्रचण्डसँग मात्र हैन, सवैसँग उत्तिकै नजिक छु ।
प्रचण्डको के कुराले आर्कषिर्त गर्छ ?
उहाको फेस नै आकर्षण गर्ने खालको छ । हँसाई राम्रो लाग्छ, जुगा राम्रो छ । बोल्ने तरिका पनि आर्कषक छ ।
डेटमा जान मन लागेको नेता ?
सवै जना वुढा छन् अनि सवै अंकल, ड्याडि जस्ता छन् को सँग जाने र खै ?
मन्त्री वन्ने अवसर आए कुन मन्त्रालय सम्हाल्ने विचार छ ?
म गृहमन्त्रालय नै सम्हाल्छु । किनकी, त्यो मन्त्रालयमा देशलाई सकारात्मक वाटोमा लैजाने शक्ति छ । आर्मि, पुलिस सवै लाई नियन्त्रणमा राखेर देशको हितका लागि काम गर्न पाईन्छ ।
तपाईलाई नेपालको कुनै नेता सेक्सी लाग्छ ?
नेपालमा त्यस्तो पर्सानिलीटी भएको नेता नै छैन । सवैको भुडि नै ठुलो छ । कसैले पनि पर्सानालिटीलाई मेन्टेन गर्न सकेका छैनन् ।
स्मार्ट पहिरनमा कुन नेता देखिन्छन ?
पहिरन राम्रो लगाउने पनि कोही देख्दीन म त ।
नेपालमा राजनीतीक नेता नभए कलाकारले देश चलाउन सक्छन् ?
चलाउन सक्छन् मात्र होईन, नेतालाई हटाएर कलाकारलाई मन्त्रालय सम्हाल्न दिने हो भने, सवैजना हेरेको हेरै हुन्छन् । कलाकारलाई थाहा हुन्छ गरिवी के हो, दुःख पीडा के हो भन्ने । उनीहरुको मुटु साह्रै कमजोर हुन्छ । उनीहरुले भ्रष्टाचार कहिले गर्दैनन् । किनकी, कलाकारलाई एउटा मानिसको आखामा आँसु देख्यो भने पनि सवै दिन तयार हुन्छन् ।
कलाकारवाट प्रधानमन्त्री छान्नु परे कसलाई छान्नु हुन्छ ?
यो पदका लागि निर शाहलाई योग्य देख्छु । किनकी, उहाँलाई राजकुमार देखि सामान्य व्यक्तिको जीवन शैलीवारे राम्रोसँग थाहा छ ।
तपाई १ दिन प्रधानमन्त्री हुनुभयो भने सवैभन्दा पहिले के काम गर्नुहुन्छ ?
सवैभन्दा पहिला पुराना रेकर्ड हेर्छु म । नायक चलचित्रमा अनिल कपुरले गरेजस्तै काम गर्छु । सवै नराम्रा काम गर्नेलाई निकाल्छु र राम्रो कामका लागि आफ्नो हस्ताक्षर गरेर छोड्छु । मैले हस्ताक्षर गरेपछि त्यो काम त गर्नैपर्यो नि हैन र ?
काठमाण्डौमा हुने गरेको मापसे चेकिङ कस्तो लाग्छ ?
यो मलाई लाटो देशमा कुन्नि के तन्नेरी भनेजस्तै लाग्छ । मानिसले शुक्रवार र शनिवार पनि रमाईलो गर्न नपाउने हुन्छ ? यहाँ सवै खालका मानिसहरु वस्छन् । मापसे चेकिङले मात्र केही हँुदैन । मापसेको धुनमा अहिले राती ड्रग्स सप्लाई भएका खवर पनि आएका छन् यो वारेमा खै सोचेको ? मापसेमा भत्ता धेरै पाईने भएर पनि होला प्रहरीदेखि ट्राफिकको ध्यान यता गएको ।
कहिलेकाही मापसे चेकिङमा पर्नु भएको छ ?
म रक्सि खाए पो पर्नु त । कागलाई वेल पाक्यो हर्ष न विस्मात ।
पेट्रोलको लाईनमा कत्ति वस्नुभयो ?
हामी कलाकारलाई लाईनमा नवस्दा पनि हुन्छ तर म धेरै पटक वसेकी छु । किनकी जनताले भोगेको पिडा म पनि जनता भएको नाताले भोग्न चाहन्छु । देशमा आवश्यक वस्तुको हाहाकार हुँदा दिक्क त लाग्छ नै तर मलाई नेपाली भएकोमा कहिले पनि खल्लो महशुश भएको छैन् । यहाँको परिस्थित समाल्न राम्रो नेताको आवश्यक छ । हामीले पनि कानमा तेल हालेर वसेका छौ । यसैले पनि देशको अवस्था यस्तो भएको हो । नेताले देशलाई लुटेका हुन् । जनता पनि जुरमुराउनुपर्छ ।
Post a Comment