डेनमार्क २५ रनले पराजित, उपाधिका लागि अमेरिकासँग भिड्ने
२४ भदौ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पार्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट डिभिजन थ्रीमा उक्लिएको छ ।
मलेसियामा जारी डिभिजन फोरको समूह चरणको आफ्नो अन्तिम खेलमा डेनमार्कलाई डक बर्थ लुइस मेथोडमा २५ रनले पराजित गर्दै नेपाल फाइनल मात्र प्रवेश गरेन, झण्डै दुई दशक लामो अन्तराष्ट्रिय सहभागितामा नेपालले सिनियर लेभलको सर्वाधिक ठूलो सफलता हात पारेको छ ।
यससँगै नेपाल सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने एक दिवसीय क्रिकेटको विश्पकपको दुई प्रतियोगितामात्र टाढा छ । अब सन् २०१३ को अप्रिलमा नेपालले डिभिजन थ्रीमा खेल्नेछ।
अब उपाधिका लागि नेपालले सोमबार अमेरिकासँग खेल्नेछ । डिभिजन फोर प्रतियोगितामा अपराजित एक मात्र टोली नेपाल १० अंकका साथ शीर्ष स्थानमा छ भने ६ अंक जोडेको अमेरिका रन रेटमा सिंगापुर र डेनमार्कलाई पछि पार्दै नेपालसँगै फाइनलमा प्रवेश र डिभिजन थ्रीमा उक्लन सफल भएको छ ।
आइतबार किनरारा ओभलमा टस जितेर पहिले व्याटिङ थालेको नेपालले अनिल मण्डलको शतकको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको छ । म्यान अफ दि म्याच मण्डलले १ सय ३४ बलमा ४ छक्का र ८ चौकको मदतमा १ सय १३ रन बनाए । उनी मात्र ३ रनले नेपाली सिनियर क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाउन चुके । सनियर क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान सुवाषको नाममा छ । शुक्रबार अमेरिकाविरुद्धको खेलमा सुवाषले १ सय १५ रनको राष्ट्रिय कीर्तिमान बनाएका थिए । मण्डल नेपाली सिनियर क्रिकेटमा शतक प्रहार गर्ने पाँचौ क्रिकेटर बनेका छन् । यसअघि सुवाष खकुरेल, शक्ति गौचन, राजु शाह, शरद भेसवाकरले शतक बनाएका छन् ।
५० रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको नेपालको पारी मण्डल र शरद भेसवाकरले उकासेका थिए । अनिलसँग ९१ रनको साझेदारी गरेका भेसवाकर व्यक्तिगत २७ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २६, बसन्त रेग्मीले २१, विनोद दासले १५ र प्रदीप ऐरीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पृथु बास्कोटा ७, संजम रेग्मी ४, पारस खड्का ३ र सुवाष खकुरेल शुन्यमा आउट भए भने शक्ति गौचन ५ रनमा अविजित रहे ।
अब तेस्रो स्थनका लागि खेल्ने सिंगापुर र डेनमार्क डिभिजन फोरमै बसेका छन् भने डिभिजन फाइभमा घटुवा भएका मलेसिया र जान्जनियाले पाँचौं स्थानका लागि खेल्नेछन् ।
onlinekhabar
Like IT On Facebook !!!
Post a Comment