२१ भदौ,काठमाडौ। सरकारले विभिन्न समयमा निरक्षरता उन्मूलनका लागि अभियानका कार्यक्रम ल्याए पनि १५ देखि ६० वर्ष उमेर समूहका मुलुकभर अझै करिब ३८ लाख निरक्षर नागरिक रहेका छन्। शिक्षा मन्त्रालयले स्थानीय निकायले पर्याप्त सहयोग नगरेका कारण राष्ट्रिय साक्षरता अभियान सफल हुन नसकेको जनाउँदै आएको छ। स्थानीय निकाय भने जनप्रतिनिधिविहीन अवस्थामा छ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आज शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तर्क्रियामा अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक केशवप्रसाद दाहालले स्थानीय निकायले साक्षरता अभियानलाई आफ्नो ठान्नुको साटो शिक्षा मन्त्रालयको कार्यक्रम ठानेका कारण लक्ष्य अनुसार निरक्षरहरूको सङ्ख्या घट्न नसकेको बताए।
केन्द्रका उपनिर्देशक दाहालले स्थानीय निकायले साक्षरता अभियान हाम्रो हो भन्ने अपनत्ववोध गरे कार्यक्रम सफल हुने बताए। केन्द्रका अनुसार अहिले देशभर ३७ लाख ८८ हजार निरक्षर छन्।
चालु आर्थिक वर्षदेखि साक्षर नेपाल अभियानको अवधारणा अघि सारिएको जानकारी दिँदै उनले यस अभियान अनुसार आउँदो तीन वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र त्यसका लागि रु तीन अर्ब ९५ करोड लाग्ने जानकारी दिए।
सरकारले २०६५ देखि देशव्यापीरुपमा साक्षरता अभियान चलाउँदा हालसम्म ४० लाख व्यक्तिलाई साक्षर भएको र त्यसका लागि चार वर्षमा रु दुई अर्ब ७८ करोड खर्च भएको अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ।
कार्यक्रममा दश वर्षसम्म स्थानीय निकायको नेतृत्वमा रहेर काम गरेका पूर्वसभासद् कृष्णप्रसाद सापकोटाले केन्द्रबाट अभियान सञ्चालन गरेर कार्यक्रम सफल नहुने बताए।
उनले निरक्षरहरूलाई साक्षर बनाउने काम शिक्षा मन्त्रालय एक्लैको मात्र जिम्मेवारी नभएको भन्दै मन्त्रालयले सरोकारवाला सबैसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए।
उनले जनप्रतिनिधि नभएको अहिलेको अवस्थामा स्थानीय निकायबाट साक्षरता अभियानलाई सफल तुल्याउन धेरै अपेक्षा गर्न नसकिने भन्दै सरकारका विकास कार्यक्रमहरूको सफलताका लागि स्थानीय निकायमा अन्तरिम चुनाव गर्नुपर्ने बताए।
उनले निरक्षरहरूलाई साक्षर बनाउन विद्यालय र स्कुले विद्यार्थीलाई परिचालन गर्नुपर्ने पनि बताए।
यसपटक अन्तर्राष्ट्रिय साक्षरता दिवस आउँदो भदौ २३ गते शनिबार परेको छ।
सरकारले यसपटकको साक्षरता दिवसको नारा 'सम्मुनत समाज, परिस्कृत संस्कार, साक्षरता र शिक्षा विकासको आधार' तय गरेको छ।
वर्षैपिच्छे नारा फेरेर साक्षरता दिवस मनाउने गरिएको भएपनि नेपालको साक्षरताको अवस्था भने सन्तोजनक छैन।
आजभन्दा ६२ वर्षअघि नेपालको साक्षरता प्रतिशत जम्मा २ थियो। विसं. २००७ पछिको अवधिमा निरक्षरता उन्मूलनका विभिन्न प्रयास भए पनि अझैपनि साक्षरता प्रतिशत ६३ बाट माथि जान सकेको छैन। रासस
Join Our Facebook !!!
Post a Comment